काबुल, बैशाख २३ अफगानिस्तानको काबुलमा मार्च महिनामा एक भीडले एक महिलाको क्रूर हत्या गरेकोमा बुधबार एक अदालतले चार व्यक्तिलाई मृत्युदण्डको सज...
काबुल, बैशाख २३
अफगानिस्तानको काबुलमा मार्च महिनामा एक भीडले एक महिलाको क्रूर हत्या गरेकोमा बुधबार एक अदालतले चार व्यक्तिलाई मृत्युदण्डको सजाय तोकेको छ ।
ती महिलाको हत्याले मुलुकलाई स्तब्ध पारेको थियो भने महिलाको समानताको अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई हिंसाबाट जोगाउन अधिकारीलाई आह्वान गरिएको थियो ।
मार्च १९ का दिन २७ वर्षीया महिला फार्खुन्दाले कुरानको प्रति जलाएको आरोप लगाउँदै उनलाई क्रुद्ध भीडले कुटेर मारेको थियो । यसका लागि १९ प्रहरी अधिकारीका साथमा ४९ व्यक्तिमाथि आरोप लगाइएको थियो ।
यस विषयमा शनिबार सुनुवाइ आरम्भ भएको थियो र दुई दिनमै उक्त निर्णय दिइएको छ । अफगानिस्तानको न्याय प्रणाली ढिलो मानिन्छ र यो निर्णय निकै छिटो आएको बताइन्छ । अदालती सुनुवाइलाई राष्ट्रिय टेलिभिजनमा सार्वजनिक गरिएको थियो र त्यसमा सार्वजनिक अभिरुचि ठूलो भएको बताइएको छ ।
न्यायाधीश साफियुल्लाह मोजादेदीले अफगानिस्तानको काबुल प्रारम्भिक अदालतमा बुधबार ती चार व्यक्तिलाई मुत्युदण्डको निर्णय सुनाएका हुन् । उनले आठ प्रतिवादीलाई १६ वर्षको कारवासको सजाय सुनाए भने १८ व्यक्तिमाथि लगाइएको आरोप हटाएका थिए ।
न्यायाधीश मोजादेदीले १९ प्रहरीमाथि शनिबार निर्णय गर्नुहुनेछ र त्यसको घोषणा आइतबार सुनाइनेछ ।
प्रतिवादीहरूलाई यस मुद्दामा पुनरावेदनको अधिकार छ । उनीहरूमाथि आक्रमण, हत्या, उक्साहटको आरोप लगाइएको थियो । प्रहरीमाथि आफ्नो कर्तव्य पालना नगरेको र आक्रमण रोक्न असफल भएको आरोप लगाइएको छ ।
मृत्युदण्ड पाउनेमा फार्खुन्दाले कुरान जलाएको आरोप लगाउने व्यक्ति परेका छन् । यसै गरी फार्खुन्दामाथि दुई ठूलो ढुङ्गा हान्ने, उनीमाथि गाडी चलाउने चालक तथा उनको शरीरमा आगो लगाउने व्यक्तिलाई पनि मृत्युदण्डको निर्णय सुनाइएको छ ।
फार्खुन्दाका भाइ मुजिबुल्लाहले अदालतले बहुसङ्ख्यक प्रतिवादीप्रति दया देखाएको भनी आफ्नो परिवार क्रुद्ध भएको बताए ।
फार्खुन्दाको हत्याले अफगानिस्तानमा धेरैलाई स्तब्ध बनाएको थियो । यस विषयमा राष्ट्रपतीय अनुसन्धानमा उनले मुसलमानको धार्मिक ग्रन्ध नष्ट नगरेको देखिएको थियो । फार्खुन्दाको हत्याको घटना मोबाइल फोनमा रेकर्ड गरिएको थियो र त्यसलाई सामाजिक सञ्जालमा राखिएको थियो ।
यो भिडियोमा प्रहरी केही नगरिकन उभिएका केही प्रहरी अक्रमणमा सरिक भएका देखाइएको छ । फार्खुन्दाका परिवारले अदालतलाई आरोपितलाई कानुन अनुसार दण्ड दिन आग्रह गरेका थिए ।
